मिस नेपाल-२०२० को धरान अडिसनमा ६ जना युवतीले अडिसन दिएका छन् । मिस नेपाल २०१७ निकिता चण्डक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा सहभागी हुन १२ जना पुगेका थिए तर ५ .४ इन्च उचाइ, प्लस २ पास र १८ वर्ष काटेका अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियमका कारण बाँकी ६ ले अडिसन दिन पाएनन् । मिस नेपाल २०१७ निकिता चण्डक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरूले गरेको कुराकानी, प्रस्तुति, आत्मविश्वास, बौद्धिक स्तर मापनका आधारमा अङ्क दिइएको थियो ।
धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा धरान, इटहरी र धनपालथान गाउँपालिका मोरङबाट सहभागी हुन आएका थिए । नेपालका हरेक प्रदेशमा १/१ वटा र काठमाडौँ गरी आठ ठाउँमा अडिसन लिइने छ । सबै स्थानको अडिसन सकिएपछि चैत १५ गते काठमाडौँको होटेल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको छ । उक्त अडिसनपछि सम्पूर्ण प्रतियोगीबाट अङ्कको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ । धरान अडिसन अघि मिस नेपाल-२०१७ निकिता चण्डक र मिस नेपाल अर्थ-२०१९ रिया बस्नेत धरानका विभिन्न कलेजमा सहभागी भएर मिस नेपाल-२०२० को प्रचारप्रसार गरेका थिए ।