यही चैत्र दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी गरेको चलचित्र  ‘के घर के डेरा’ को छायाङ्कन रोकिएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सतर्कता अपनाउँदै अवस्था सामान्य नभए सम्मका लागी छायाङ्कन रोकिएको निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । सम्पूर्ण विश्व कोभिड-१९ को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरू बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरूले छायाङ्कन स्थगन गरेका छन् । यसैले चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिङे लामा)ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायाङ्कन स्थगित गरिएको बताएका छन् । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने । चलचित्र युनिटले महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपिल समेत गरेको छ । पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा'को नाम सापटी लिएर यो चलचित्र बनाउन लागिएको हो ।

यम प्रसाद ओली सह-निर्मातामा रहेका छन् । ‘हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतीक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिङे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् । काठमाडौँमा कोठा भाडामा लिएर बस्नेहरूको कथामा आधारित भएर निर्माण हुने चलचित्रलाई दीर्घ वीर गुरुङले खिच्ने छन् ।  मित्र डी. गुरुङको सम्पादन रहने चलचित्रमा शङ्कर थापा ‘स्माइल’ को सङ्गीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । चलचित्रलाई रोहित-रत्न (आरआर) ले वितरण गर्दै छन् । चलचित्रमा भर्सटायल अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईको अभिनय रहनेछ । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहनेछ ।