कोरोना भाइरस(कोभिड १९)को त्रासले यति बेला सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । कल कारखाना देखी दिएर स्कुल कलेज लगायत सम्पूर्ण फिल्म इन्डस्ट्री केही समयको लागी बन्द भएका छन् । हरेक समय चलचित्र का केही न केही काममा व्यस्त रहने कलाकार यति बेला पूर्ण रूपमा फुर्सदिला बनेका छन् । उसो त अत्यावश्यक बाहेक सम्पूर्ण यति बेला घरमा नै छन् । घरमा भए पनि त्रास र डरले भने कसैलाई राम्रो सँग निदाउन दिएको छैन । विश्वलाई नै आक्रान्त पारेको यस भाइरसलाई नेपालमा पस्न नदिन र यो सँग जुध्नको लागी मनोवैज्ञानिक रूपमा नै सबै तयार हुनु जरुरी छ । यसैले सबैले आफ्नो ठाउँबाट जना चेतना फैलाउने र त्रासमा होइन होसियारी पूर्वक बाँचौँ भन्ने सन्देश दिइरहेका छन् । यसै बिच लाखौँ दर्शकको मनमा बसेका कलाकारहरूले पनि आफ्नो तर्फबाट सबैलाई सजक र सुरक्षित हुन आह्वान गरिरहेका छन् ।

आफू र आफू वरिपरिका मान्छेलाई सुरक्षित बनाउन कलाकारहरू यति बेला सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आफ्नो फुरसको समय आफूले इच्छ्याएको काम गर्दै बसेका उनीहरूले  संयमित भएर अगाडी बढ्न सामाजिक सञ्जाल मार्फत अनुरोध गरिरहेका छन् . यसै सन्दर्भमा नायक राजेश हमाल, अभिनेत्री स्वस्तिमा खड्का,  दिपाश्री निरौला, वर्षा सिवाकोटी, रेखा थापा, अनु शाह, ऋचा शर्मा, प्रियंका कार्की तथा अन्य कला कर्मीहरूले आतङ्कित नबन्न र अरूलाई पनि नबनाउन अनुरोध गर्दै साबुन पानीले हात धुन, बाहिर जानु अगाडी र आइसकेपछि स्यानीटाईजर प्रयोग गर्न, मास्क अनिवार्य लगाउन र अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेका छन् । यो समयमा सकारात्मक कुरामा मन लगाउने र आफू वरिपरिका मानिसलाई पनि मनोवैज्ञानिक त्रासबाट बाहिरा ल्याउनु पर्ने उनीहरूको जोड रहेको छ । कोरोनाबाट बच्न नेपाल सरकारले आइतबारबाट अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिसकेको छ भने घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।