कोरोना भाइरसको सङ्क्रमणको जोखिमले चलचित्र ‘ए मेरो हजुर ४’को छायाङ्कन केही दिन अघि बाट रोकियो । पोखरा आसपास छायाङ्कनको क्रममा रहेको चलचित्रको काम यति बेला पूर्ण रूपमा रोकिएको छ । विश्वकालाई आतङ्कित बनाइरहेको यस भाइरसको कारण हजारौँले ज्यान गुमाइरहेका छन् भने लाखौँ सङ्क्रमित भैसकेका छन् । यसै बिच अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्रको छायाङ्कन युरोपमा नहुने भएको छ । पोखरा, काठमाडौँपछि चलचित्रको छायाङ्कन युरोपमा गर्ने तयारी थियो । तर, विश्व भर नै कोरोनाको सन्त्रास बढेपछि यसको छायाङ्कन युरोपमा नगर्ने निर्णय निर्माण पक्षले लिएको हो । नेदरल्याण्डमा फुल फुल्ने मौसममा चलचित्रको छायाङ्कन गर्ने योजनामा निर्माण पक्ष थियो तर अब नेपाल कै कुनै सुन्दर स्थानमा चलचित्र खिचिने निर्देशक  झरना थापाले बताएकी छिन् । चलचित्रलाई आउँदो वर्षको दसैँमा रिलिज गर्ने योजना बनाइएको छ तर रोकिएको छायाङ्कन कहिले बाट सुरु हुन्छ यो अन्योलमा छ ।