सङ्गीतकार एवम् रचनाकार मनिष वशिष्ठको छोटो चलचित्र 'बाघ' सार्वजनिक भएको छ । चलचित्रको कथा, स्क्रिप्ट तथा कन्सेप्ट मनिष बशिष्ठकै रहेको छ । सन् २०१३ मा बर्दियाको एक ग्रामीण भेगमा नरभक्षी बाघले मच्चाएको आतङ्कको घटनामा आधारित यस चलचित्रमा जीवन भट्टराईको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन तथा पटकथा रहेको 'बाघ'मा होमीसाइडल सोम्नाबुल्जिमको बारेमा कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । होमीसाइडल सोम्नाबुल्जिम भनिने होमीसाइडल स्लिपवाकिङ वा स्लिपिवाकिङ मर्डर निन्द्रैमा हिँड्ने बेला कसैको हत्या वा वध गर्ने एक डिसअर्डर हो ।

चलचित्र यसकै कथामा रोचक शैलीमा प्रस्तुत गरिएको छ । निन्द्रैमा हिँड्ने बेला कसैको हत्या गर्ने घटना यदाकदा हुने भएकोले यसकै आधारमा सर्ट मुभी बनाइएको निर्माण टिमले जनाएको छ । बुद्ध लामाको सिनेमेटोग्राफी रहेको चलचित्रमा रुपेश खड्का र ओम पौडेलले सम्पादन  गरेका हुन् । जसमा ग्राफिक्स ओम पौडेलले नै गरेका हुन् । 'बाघ'लाई लक्ष्मी बर्देवाले सहायक निर्देशन गरेकी हुन् । यसमा सङ्गीत मनिष बशिष्टकै रहेको छ । 'बाघ' एमबी क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।