विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । 'लक डाउन'को अवधिमा पनि 'रङ्गमञ्च महोत्सव' हुने भएको हो । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेको हो । रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताएका छन् । दर्शकले यो महोत्सव भर्चुअल दुनियाँमा हेर्न सकिन्छ । हरेक साँझ ५ बजे थिएटर मलको फेसबुक पेजमा एउटा नाटक मञ्चन गरिने छ । घरमै बसेर नाटक हेर्न र प्रतिक्रिया दिन सकिने निर्देशक श्रेष्ठले बताए ।

उनी थप्छन्, 'सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येयले यस्तो महोत्सव गर्न लागिएको हो' । महोत्सव लाई ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात् २७ मार्चकै दिन सुरु हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । नाटक महोत्सवको सुरुवात ‘मान भर्सेस मती’ नाटकबाट गरिने छ ।