सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ले नयाँ गीत ल्याएका छन् । कोरोना सङ्क्रमण न्यूनीकरण गर्न देशभर लक डाउन भइरहेका बेला दीपक र उनका ब्यान्डले ‘उफ् लक डाउन’ बोलको गीत सार्वजनिक गरेका हुन् । उनीहरूले फेसबुक लाइभमार्फत पनि दर्शकहरूलाई मनोरञ्जन दिइरहेका छन् । दीपक बज्राचार्यको स्वर रहेको गीतमा शब्द विजेन्द्र बज्राचार्यको रहेको छ । सार्वजनिक गीत कोरोनाको सङ्क्रमण कम गर्नको लागि विश्वभरि भइरहेको लक डाउन र त्रासको बारेमा रहेको छ । गीत सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन् ‘यो गीत बनाउनुको मुख्य हाम्रो उद्देश्य भनेको संसारको वर्तमान अवस्थालाई स्विकार्नु र यस मार्फत सकारात्मक हुनु हो । सम्भव भएसम्म मनोरञ्जन गर्नु होला ।’ सबै कलाकारले आ आफ्नो तर्फबाट कोरोनाको सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउनको लागी सबैलाई सचेत गराइरहँदा दीपक र उनको समूहले मनोरञ्जन प्रदान गर्दै आफ्नो गीत लाई नै जनचेतना जगाउन प्रयोग गरेका हुन् ।