संसारभर फैलिएको कोरोना भाइरसको महामारी न्यूनीकरण गर्न र सङ्क्रमण फैलिन नदिन सरकारले वैशाख १८ गतेसम्मलाई देशभरका फिल्म हल बन्द गरेको छ । प्रदर्शनको तयारीमा रहेका चलचित्रले नयाँ प्रदर्शन मिति तय गर्न सकेका छैनन् भने फ्लोरमा गएका चलचित्रको काम ठप्प भएको छ । यो अवस्थाले सिङ्गो फिल्म इन्डस्ट्रीलाई नै ठुलो नोक्सान पुर्याएको छ । लाखौँ खर्च गरेर चलचित्रमा लगानी गर्ने निर्माता देखी बैङ्कबाट कर्जा लिएका हल सञ्चालकलाई समेत ठुलो असर परेको छ । यस समस्यामा परेकालाई राहत पुग्ने आशा सहित केही दिनअघि चलचित्र निर्माता सङ्घले सरकारलाई सिनेमा घरहरूले प्रयोग गर्ने बत्तीको भुक्तानी, फिल्म तथा सङ्गीत क्षेत्रमा काम गर्ने कलाकार तथा श्रमिकको पारिश्रमिकमा कटाइने कर र फिल्म तथा गीत सङ्गीत उत्पादन गर्ने कम्पनीहरूले बैङ्क तथा वित्तीय क्षेत्रबाट लिएको कर्जाहरूमा लाग्ने व्याज मिनाहा गर्न तीन बुँदे माग सूचना तथा संन्चार मन्त्री सामु बुझाएको थियो । बुधवार अर्थमन्त्रीको अध्यक्षमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाबाट प्रभावित व्यवसायहरूको कर्जाको सावा तथा व्याज तत्काललाई स्थगन गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयबाट बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सावा तथा व्याज चैत मसान्तसम्म स्थगन गर्ने निर्णयले तत्काललाई फिल्म क्षेत्रले राहत महसुस गरेको चलचित्र निर्माता सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो निर्णयका लागि सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्माता सङ्घले कोभिड १९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको कार्यहरूको पनि प्रशंसा गरेको छ ।