शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्यो काले' शुक्रवार युट्युबमा सार्वजनिक भएको थियो । लक डाउनमा दर्शकलाई घरमै बसेर मनोरञ्जन लिनको लागी भन्दै सार्वजनिक गरिएको चलचित्र युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । चर्चित जोडी अभिनेता सौगात मल्ल र श्रृष्टी श्रेष्ठ तथा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र शुक्रवार बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । चलचित्र रिलिज भएको दुई दिनमा नै २३ लाख ३२ हजार बढिले हेरिसकेका छन् । चलचित्रलाई ६८ हजारले मन पराएका छन् भने ५५ सय बढिले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक रहेको छ । चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित मानन्धर र सुरक्षा पन्तका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् ।