सरकारले लक डाउनको घोषणा गरेको एक हप्ता बितिसकेको छ । यति बेला सम्पूर्ण मनोरञ्जन क्षेत्र बन्द छ । दर्शकले घर मै दिन हरू गुजारिरहनु परेको छ । दर्शकले घरमा बसेको समय केही फरक र मनोरञ्जनात्मक होस् भन्ने उद्देश्यका साथ सुरु गरिएको  'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'को आज चौथो दिन हो । चौथो दिन नाटक 'पाँच' देखाइने भएको छ। सुदाम सिकेको परिकल्पना तथा निर्देशन रहेको यस नाटकमा आयान खड्का, इङ्गीहोपो कोइंच सुनुवार, रिजन परियार, आलोक थामी, सुरज तमुको अभिनय रहेको छ। साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत नाटकको भिडियो प्रसारण हुनेछ। कथा घेराको प्रस्तुति रहेको नाटक 'पाँच' यसअघि कौसी थिएटरमा मञ्चन भएको थियो। थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रूपमा आयोजना गरेको यस भर्चुअल महोत्सव शुक्रवार सम्म चल्नेछ।