कोरोना भाइरससँग लड्न विश्वका हरेक कुनाबाट सबैले आ आफ्नो ठाउँबाट लागिपरेका छन् । नियन्त्रण बाहिर गइरहेको यस भाइरसले हजारौँको ज्यान लिइसकेको छ भने लाखौँ सङ्क्रमित भएका छन् । यसै बिच नेपाल भारत लगायत देशमा पनि सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि सरकारले लक डाउन लागु गरेको छ । भारतमा तीव्र गतिले फैलिरहेको कोरोनासँग लड्न र यसको क्षति कम गर्न सरकारले अनेक पाइलाहरू चालिरहेको छ । सरकारले चालेको कदमलाई साथ दिँदै बलिउड कलाकारहरूले आफ्नो तर्फ बाट सक्दो सहयोग गरिरहेका छन् र अगाडी पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् । कोरोना फैलन नदिन गरिएको लक डाउनले भारतका मजदुरहरूलाई धेरै नै प्रभाव परेको छ ।

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूलाई अहिले छाक टार्न गाह्रो भइरहेको छ । यस समस्यालाई न्यूनीकरण गर्न बलिउड अभिनेता सलमान खानले निम्न वर्गका मजदुरलाई सहयोग गर्ने भएका छन् ।फेडेरेसन वेस्टर्न इण्डियन सिने इम्प्लाइज एफडब्ल्युआईसीईसँग रहेर काम गर्ने २५ हजार कर्मचारीहरूलाई सलमान खानले सहयोग गर्ने भएका हुन् । अन्य कलाकारले राहत कोषका मार्फत सहयोग गरे पनि सलमानले सिधै मजदुरलाई दैनिकी गुजारा गर्नको लागी सहयोग गर्न लागेका हुन् ।