केही हप्ता यता नेपाली फिल्म इन्डस्ट्री निकै सुनसान छ । विश्व लाई नै आतङ्कित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभावले केही हप्ता अघि नै सरकारले फिल्म हल बन्द गरेको थियो । सरकारले गत हप्ता लक डाउनको घोषणा गरेपछि फ्लोरमा गएका चलचित्रले छायाङ्कनको काम रोकेका छन् । यति बेला चलचित्र सम्बन्धी सम्पूर्ण काम बन्द छन् । यसै सुनसानको स्थिति बिच चैत अन्तिम साताबाट फ्लोरमा जान तयार चलचित्र 'नाइँ नभन्नू ल ६' स्थिति सामान्य नभएसम्म छायाङ्कनमा नजाने जानकारी आएको छ । यति बेला चलचित्रका लागि कलाकार छनोट काम भइरहेको छ । यसमा अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतको अभिनय रहने पक्क भैसकेको छ भने  तीन अभिनेत्री हुने बताइएको छ ।

जसमा अभिनेत्री वर्षा राउत पनि रहने बुझिएको छ । श्रोतका अनुसार वर्षाले निर्माण पक्षसँग भेट गरी स्क्रिप्ट पनि पढिसकेकी छिन् । उनी चलचित्रलाई लिएर सकारात्मक भएको पनि बुझिएको छ । उनले 'नाइँ नभन्नु ल'को चौथो शृङ्खलाबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । वर्षले ‘जात्रै जात्रा’ पछि कुनै चलचित्र साइन गरेकी थिइनन् । लामो समयको अन्तरालपछि चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’ मा अनुबन्धित भएकी थिइन् भने ‘२ नम्बरी’को छायाङ्कन पनि सुरु भैसकेको थियो ।