दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो भने धेरै नेपाली भोकै पर्ने स्थिति हाम्रो अगाडी छ । यो समस्याले हरेक क्षेत्रका मानिस अप्ठेरोमा परेका छन् । यसै बिच दैनिक काम गरेर घर चलाउने नेपाली चलचित्रका प्राविधिकहरू पनि निकै समस्यामा परेका छन् । यसै कुरालाई मध्यनजर गर्दै चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले यो अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

यस कुरामा आत्मसाथ गर्दै कलाकार निर्माता दीपक राज गिरीले प्राविधिकहरूको यो कठिन समयमा सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेका छन् । उनले आफ्नो टिमबाट रु १ लाख १० हजार सहयोग गर्ने घोषणा गर्दै सबैले यस कुरालाई मनन गर्न आग्रह गरेका छन् । उनले यसबारे आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गर्दै, हामीलाई सुटिगंको समयमा,भोक लाग्दा खाना खुवाउने, 'हामीलाई गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो अतः सबै मिलेर केही सहयोग गरौँ.... हाम्रो तर्फबाट रु १ लाख १० हजार दिँदै छौ !!!!' भनेका छन् । केही दिन अघि उनले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने प्राविधिकहरू समस्यामा परेको गुनासो सङ्घमा आउने थालेको र हातमुख नै जोडन समस्या हुने प्राविधिकहरूका लागि सङ्घले राहतको काम अगाडि बढाएको पनि उल्लेख गरेका थिए ।