विगत दुई हप्ता यता सम्पूर्ण नेपाली फिल्म इन्डस्ट्रीमा ताला लागे जस्तै भएको छ । करोनाभाइरस बाट बच्न र क्षति कम गर्न लागु गरिएको दुई हप्ता लामो ‘लकडाउन’ले नेपाली फिल्मका हरेक गतिविधि ठप्प भएका छन् । यसकै कारण प्रदर्शन मिति तोकिएका चलचित्रले एकाएक हात झिक्नु पर्‍यो भने फ्लोरमा गएका चलचित्रले झोला बोकेर घर फर्किने स्थिति आयो । जसले गर्दा दैनिक रूपमा चलचित्रसँग सम्बन्धित काम गरेर परिवार पाल्ने प्राविधिकहरूले आर्थिक सङ्कट भोग्नु परेको छ । प्राविधिकहरूलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक सङ्घले फिल्म कर्मीसँग सहयोगको अपिल गरेको थियो । यसमा साथ दिँदै निर्माता कलाकार दीपक राज गिरीले आफ्नो टिमको तर्फबाट १ लाख १० हजार सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यसै बिच पछिल्लो समयका चर्चित अभिनेता पल शाहले पनि सामाजिक सञ्जालमा आफूले पनि प्राविधिकहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरूलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् ।

चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गरेको उनले बताएका छन् । उनको यस सहयोगलाई सबैले प्रशंसा गरेका छन् । चलचित्र निर्माण देखी चलचित्रलाई एउटा सिङ्गो रूप दिन सहयोग गर्ने प्राविधिकहरूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।