कोरोनाभाइरस सङ्क्रमणबाट बच्न र बचाउन सन्देश प्रवाह गर्ने र सुरक्षित रहन प्रोत्साहन थप्न कलाकारहरू आफ्नो कलाको माध्यम बाट अगाडी आइरहेका छन् । नेपाल मा यसै कहर बाट बच्न सरकारले लक डाउन गरेको पनि १० दिन कटिसकेको छ । यता सम्पूर्ण नेपालीमाझ जनचेतना जगाइरहँदा दिन दिनै एक पछि अर्को कोरोना सङ्क्रमित भेटिइरहेका छन् । यसै बिच सबैलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाइरहेको कोरोना बाट बच्न जनचेतना जगाउँदै र लकडाउनपछि घरमा कैदी बन्दी जस्तो दिन बिताइरहेका मानिसलाई उत्साह थपिरहने काम गरिरहेका छन् कलाकारहरूले । यसै बिच कोरोनासँग सम्बन्धित नयाँ गीत सार्वजनिक भएको छ । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र चर्चित गायक विश्व नेपालीको स्वर रहेको जागरण तथा सन्देशमूलक गीत सार्वजनिक गरिएको हो । कोरोनाको त्रासका कारण मान्छेलाई देख्दा मान्छे नै तर्सिनु पर्ने सृजित अवस्थालाई समेटेर ‘ मान्छेलाई देख्तानी मान्छेले नै तर्सिनु पर्ने के होला’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन, महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रण तथा मिश्रणमा तयार भएको श्रव्य गीतको दृश्य मिश्रण वीरेन्द्र भाट विपिनले गरेका छन् ।