भर्चुअल नाटक महोत्सव ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ले यति बेला दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दर्शकको घरमा बसेको समय केही फरक र मनोरञ्जनात्मक होस् भन्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा आज नाटक 'दयालु रुख' देखाइने छ । अमेरिकी बाल कथा 'द गिभिङ ट्रि'मा आधारित नाटकको परिकल्पना तथा निर्देशन आकाङ्क्षा कार्कीले गरेकी हुन् । नाटकमा इंगिहोपो कोइँच सुनुवार , सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान खड्काको अभिनय रहेको छ । नाटकले दिएर कहिल्यै नथाक्ने रख र मान्छेको सम्बन्ध देखाइएको छ । साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमार्फत नाटकको भिडियो प्रसारण हुनेछ । महोत्सव थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले संयुक्त रूपमा आयोजना गरेको हो । कविता र गीतहरूसहित साङ्गीतिक प्रयोग गरिएको नाटक यसअघि कथा घेराको कौसी थिएटरमा देखाइएको थियो ।