लकडाउनका कारण सबै कलाकार लगायत सम्पूर्ण घरमा नै सीमित हुनुपरेको छ । यति बेला अधिकांश कला कर्मी घरमै छन् । उनीहरू आफ्नो दैनिकी तथा मनोरञ्जन दिन सामाजिक सञ्जाल मा जोडिइरहेका छन् । यसमा पर्छन् कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि । रङ्गशाला निर्माणको कामबाट केही फुर्सदिला बनेका यी जोडी छोरी र परिवारका अन्य सदस्यसँग समय बिताइरहेका छन् । साथमा उनीहरूले कोरोना विरुद्ध सन्देश प्रवाह समेत गरिरहेका छन् । केही दिन अघि हात धोऔँ, स्यानिटाइजर लगाऔँ, क्वारेन्टाइनमा बसौँ लगायत सन्देश बोकेको दोहोरी गीत सार्वजनिक गरेका थिए । जसलाई उनीहरूका शुभ चिन्तकले निकै रुचाएका थिए । उनीहरूले पुनः एक पटक दोहोरी खेलेको भिडियो सार्वजनिक गरेका छन् । यस पटक उनीहरू मुस्कान पासा र बुढी आमै पात्रका भेषमा प्रस्तुत भएका छन् । यो पटकको दोहोरी नेपाल, भारत सीमा दार्चुलामा फसेका नेपालीको विषयमा रहेको छ । भिडियोमार्फत् उनीहरूले कोरोना सबै नेपालीका लागि एकजुट हुन आग्रह पनि गरेका छन् ।