लक डाउनको कारण आर्थिक समस्यामा परेकाहरूका लागी विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ । व्यापार व्यवसाय तथा कल कारखाना बन्द हुँदा हुँदा खाने र दैनिक काम गरेर खाने वर्ग यसको प्रत्यक्ष मारमा परेका छन् । दुई हप्ता यता जारी भएको लक डाउन र करिब एक महिना यता फिल्म सम्बन्धी काम बन्द हुँदा चलचित्रसँग सम्बन्धित ज्याला मजदुरी गर्ने प्राविधिकहरूलाई बिहान बेलुकाको छाक टार्नै धौधौ परेको छ । यसै बिच चलचित्र प्राविधिक सङ्घले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरूलाई सहयोग गर्न अपिल गरेपछि अहिले विभिन्न व्यक्तिबाट सहयोग रकम जुटिरहेको छ । सहयोग गर्ने हातहरूमा हात मिलाउन अभिनेत्री पूजा शर्मा पनि अघि सरेकी छिन् । उनले आइतबार २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी छिन् ।
अभिनेत्री शर्माले २ लाख बराबरको खाद्यान्न सामाग्री किनेर प्राविधिकहरूलाई सहयोग गर्न लागेको चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताएका छन् । यसै गरी अभिनेत्री वर्षा राउतले पनि ५१ हजार नगद सहयोग गरेकी छिन् । सङ्घमा आबद्ध १३ सय सदस्यमध्ये आइतबार र सोमबार गरी तीन सय जनालाई राहत वितरण गरिँदै छ ।