नेपालमा कोरोनाभाइरसको जोखिम यति बेला सम्म केही कम भए पनि आगामी दिनमा आउन सक्ने भयानक स्थितिबारे जो कोही त्रसित छन् । उचित स्वास्थ्य सेवा नहुनु र अस्पताल ले नै जोखिम धान्न नसक्ने स्थिति हुँदा डर सबैको मनमा छ । यसै डर र त्रासका बिच केही दिन अगाडि अमेरिकी सरकारले नेपालबाट विमान चार्टर गरेर ३०३ जना अमेरिकी नागरिकलाई आफ्नो देश फिर्ता लगेको थियो । ३०३ अमेरिकी नागरिकहरूको भीडमा थिए नायक सरोज खनाल । उनी त्यहाँको ग्रिन कार्ड होल्डर हुन् । यद्यपि केही वर्ष अगाडि अमेरिकाको सम्पूर्ण सुख सुविधा त्यागेर नेपाल फर्किएको घोषणा गरेका थिए । सरोज अमेरिका हानिएपछि उनको आलोचना भइरहेको छ । आफ्ना शुभचिन्तकबाटै आलोचित भएका सरोजले अमेरिका पुगेपछि आफू यस्तो अवस्थामा परिवारसँग नै समय बिताउन उचित ठानेर अमेरिका आएको बताएका छन् ।

परिवारसँग रमाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले जसले जे भने पनि आफूलाई परिवारसँग नै समय बिताउन मन लागेको लेखेका छन् । उनको पुरै परिवार अमेरिकामै छ । जेठो छोरा अमेरिकी आर्मीमा कार्यरत छन् भने कान्छो छोरा अध्ययनरत छन् । श्रीमती सूर्य माला खनाल पनि केही समय अघि देखी उतै छिन् । अमेरिका पुगे लगत्तै सरोज खनालले श्रीमती र दुई नातिसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जहाँ उनी निकै खुसी देखिन्छन् । उनी लेख्छन्, 'जे पर्ला तेहि टर्ला' ।