कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न सरकारले वैशाख ३ गते सम्मको लागी लकडाउन घोषणा गरिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनले जनजीवन प्रभावित पारेको छ भने दैनिक ज्यालादारीमा काम गर्ने र आधारभूत आवश्यकता पुरा गर्ने निम्न आय श्रोत भएका परिवार यति बेला समस्यामा परेका छन् । अन्य क्षेत्रमा काम गर्ने मजदुरका साथमा चलचित्र क्षेत्रमा काम गर्ने धेरै प्राविधिक हरू पनि यसको प्रत्यक्ष मारमा परेका छन् । जसका कारण फिल्म कर्मी तथा कलाकारले सहयोग गर्ने प्रतिवद्दता जनाइसकेका छन् । यसै क्रममा अभिनेत्री पूजा शर्माले केही दिन अगाडी दुई लाख भन्दा बढीको खाद्यान्न प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेकी थिइन् । उनले बाचा गरे अनुरूप ३० जना प्राविधिकलाई राहत हस्तान्तरण गरेकी छिन् ।
बिहीबार उनले प्रति व्यक्ति १ बोरा चामल, २ केजी नुन, २ लिटर तेल, दाल, केराउ, १ केजी चिनी, बिस्कुट, १० प्याकेट चाउचाउ, साबुन लगायत सामान वितरण गरेकी छिन् । प्राविधिकको सहजताका लागी उनी घर-घरमा नै पुगेर सहयोग उपलब्ध गराएकी हुन् । उनको साथमा प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, सङ्घका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेल, पूर्व महासचिव सुरज आचार्य लगायत उपस्थित थिए । पूजाले आफूले सक्ने र आवश्यक परेका व्यक्तिलाई थोरै सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको बताएकी छिन् । उनले हरेकलाई सचेत हुन र आफ्नो र आफ्नाको स्वास्थ्यको ख्याल गर्दै घरै बस्न अनुरोध समेत गरेकी छिन् ।