'क्वारेन्टाइन अभियान नाट्य महोत्सव' को सोह्रौँ दिन दुई नाटक प्रसारण हुने भएका छन् । भर्चुअल नाटक महोत्सवको अन्तिम दिन दुई नाटक ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइने भएको हो । कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’लाई हिरा बिजुली नेपालीले लेखेका साथै निर्देशन गरेका हुन् । नाटकको भिडियो दिउसो एक बजे थिएटर मलको आधिकारिक फेसबुक पेज मार्फत प्रसारण हुनेछ । परम्पराले निम्त्याएको सामाजिक विकृति, महिला र दलितहरूमाथिको विभेद र दमन बारे निर्माण भएको नाटकमा विष्णुमाया परियार, गोविन्द सुनार, गणेशबहादुर खड्का, राज मल्ल, हिरा बिजुली नेपाली, जसुल्ली नेपाली, सुशीला रावल, अर्जुन परियार, दीपेन्द्र नेपाली, भिमबहादुर बिक, हेमराज बिक, रामु बिक, जन्मलक्ष्मी हमाल, उजेली खड्का, खामु बिक, औसिमा परियार लगायतको अभिनय रहेको छ ।

यस्तै आरोहण गुरुकुलले निर्माण गरेको नाटक ‘ताराबाजी लैलै’ साँझ पाँच बजे थिएटर मलको आधिकारिक फेसबुक पेज मार्फत प्रसारण हुनेछ । भोलाराज सापकोटा, अरुणा कार्की, पशुपति राई, कमलमणि नेपाल, सरिता गिरी, कर्मा, राजकुमार पुडासैनी, समुना केसी लगायत कलाकारको अभिनय रहेको नाटकले मानिसको सिकाइ र भोगाइ तथा सोच्ने र हेर्ने तरिका समयसँगै बदलिन्छ तर प्रेम र मित्रता अनि भोगाइ सधैँ उस्तै रहने कथा बोकेको छ । रङ्गमञ्च र दर्शकलाई सम्पर्कमा राख्ने उद्देश्यले सुरु गरिएको महोत्सव यी नाटकको प्रसारण सँगै समापन हुने छ ।