मल्टिप्लेक्स हल ‘वान सिनेमाज’ले टिकटक प्रतियोगिता गर्ने भएको छ । लकडाउनले गर्दा सबै दर्शक घरमा सीमित भएका बेला वान सिनेमाजले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । टिकटकको क्रेजलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा भाग लिनको लागि प्रतियोगीहरूले कुनै पनि एक चलचित्रको संवादमा भिडियो बनाउनु पर्नेछ । बनाएको उक्त भिडियोलाई ‘वान सिनेमाज’को अफिसियल फेसबुक पेजमा गरिएको पोस्टमा कमेन्ट गर्नुपर्नेछ । प्रतियोगिताको लागी अप्रिलको २० सम्ममा भिडियो पोस्ट गरिसक्नु पर्ने छ । पोस्ट गरिएको भिडियोमा सबै भन्दा धेरै लाइक र प्रतिक्रिया पाएको भिडियो पुरस्कृत हुने छ ।
विजेताले लकडाउनपछि एक सो नै बुक गरेर चलचित्र हेर्न पाउनेछन् । उक्त शोमा विजेता र उसको परिवार मात्रले चलचित्र हेर्ने मौका पाउनेछन् । योसँगै आइप्लेक्स मलले पनि अर्को योजना बाहिर ल्याएको छ । आइप्लेक्स मल फेसबुक पोस्टमा राखिएको फोटोमा आफूले लकडाउनमा गरेको कामहरूमा ठिक चिन्ह लगाएर कमेन्ट गरे, त्यहाँबाट उत्कृष्ट तीनलाई छनोट गरेर चलचित्र देखाइने छ । ‘क्वारेन्टाइन बिङ्गो’ नाम दिइएको यस अफरबाट पनि वान सिनेमाजमा चलचित्र हेर्ने मौका मिल्नेछ । साथै गिफ्ट भौचर पनि पाइने छ ।