कोरोना भाइरसको प्रभावले यति बेला सम्पूर्ण व्यवसाय तथा उद्योग धन्दा बन्द भएका छन् । त्यसमाथि सरकारले लगाएको तीन हप्ते लकडाउनले जनजीवन निकै प्रभावित बनेको छ । दैनिक काम गरेर परिवारको गुजारा टार्ने निम्न आय श्रोत भएका को लागी यो समय अझ कठिन भएको छ । यस समस्यालाई मनन गर्दै चलचित्र क्षेत्रका निम्न आय श्रोत भएका प्राविधिकहरूलाई कलाकार लगायतले सहयोग गरिरहेका छन् । यसै बिच केही दिन अघि ५ लाख बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएका नायक पल शाहले आफ्नो बचन पुरा गरेका छन् । पलले नयाँ वर्षको अवसर परेर पाँच लाख बराबरको राहत सामाग्री प्राविधिकलाई हस्तान्तरण गरेका हुन् । उनले पाँच हजार किलो चामल, चार सय लिटर तेल, दुई सय दर्जन बिस्कुट,पाँच सय किलो कालो दाल, चार सय किलो आँटा लगायत खाद्यान्न वितरण गरेका छन् ।

चलचित्र प्राविधिक सङ्घ नेपालका प्रमुख पुष्कर लामाको उपस्थितिमा पलले राहत वितरण गरेका हुन् । उनले आफूले यसरी सहयोग गर्न पाउँदा खुसी लागेको र आफ्ना सङ्घर्षका दिन सम्झिएको बताए । साथै उनले हरेकले सहयोग आवश्यक परेका र अप्ठेरोमा परेकालाई आफूले सक्दो सहयोग गर्न र कसैलाई आफ्नो दैनिकी चलाउन अप्ठेरो नहोस् भन्ने सोच्न आग्रह गरेका छन् ।