यही वैशाख १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘हिजो आजका कुरा’ को पनि प्रदर्शन रोकिएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम गर्न लागु गरेको तीन हप्ते लकडाउन सकिएर दुई हप्ता थप गरेको छ । उसो त सरकारले वैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरिसकेको छ । जसका कारण जेठ सम्मलाई प्रदर्शन मिति तोकिएका चलचित्रका प्रदर्शन मिति स्थगित गरिएका छन् । यसैबिच चलचित्र ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन सरेको जानकारी गराएको हो । निर्धारित मितिमै फिल्म प्रदर्शन गर्ने तयारी गरिए पनि वर्तमान प्रतिकूल परिस्थितिका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जनजीवन सामान्य अवस्थामा फर्किएपछि फिल्मको नयाँ प्रदर्शन मिति तय गर्ने बताइएको छ ।
चलचित्रमा सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै चलचित्रको मुख्य भूमिकामा देखिनेछन् भने साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइँकेल, अनुष्का अधिकारी समेतको अभिनय रहनेछ । बिदेसिएका परिवारका सदस्यको कथामा निर्माण हुने चलचित्र पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने छ ।