लक डाउनले सम्पूर्ण फिल्म इन्डस्ट्री बन्द भएका छन् । एक महिना भन्दा पहिले बन्द भएका हलहरू कहिले खुल्छन् अझै अत्तो पत्तो छैन । न चलचित्र निर्माण हुने स्थिति छ न नयाँ चलचित्र प्रदर्शनमा आउने नै भएको छ । यसले गर्दा कलाकारहरू फुर्सदिला बनेका छन् । घरमै बसिरहेका कलकारहरू दर्शकसँग साक्षात्कार गर्न विभिन्न माध्यम अपनाइरहेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्ना विचारहरू राखिरहने अभिनेता तथा निर्माता दीपकराज गिरीले वेब सिरिज बनाउने मुडमा रहेको बताएका छन् । फेसबुकको चर्चित ग्रुप एमआरआरमा विशेष लाइभ आउँदै उनले यसको खुलासा गरेका हुन् । दीपकराज समूहको नयाँ चलचित्र तथा ‘तितो सत्य’ जस्तो सिरियल फेरि लिएर आउनु पर्ने सदस्यहरूको मागका बारेमा बोल्दै उनले यो विचार राखेका हुन् ।
उनले चलचित्रको काम लकडाउन पछि ठ्याक्कै रोकेको र अब ‘तितो सत्य’ पनि इतिहास भैसकेका कारण यसलाई सुरु गर्ने भन्दा पनि दिमागमा वेब सिरिज बनाउने की भन्ने सोच आएको उनले बताएका छन् । यसबारे अध्ययन पनि गरिरहेको दीपकले खुलासा गरेका छन् । वेब सिरिज कमेडी जनरा कै वेब सिरिज बनाउँछन् वा अन्य जनराको वेब सिरिज बनाउने त्यस बारे उनले केही खोलेका छैनन् । कोरोनाको औषधी वा खोप नबनेसम्म सार्वजनिक स्थलमा भिडभाड नगर्न, मेला महोत्सव गर्नलाई कडाइ गर्ने भएसँगै दर्शक हल सम्म पुग्ने सम्भावना कम भएका कारण अबको समयमा दर्शकले घरबाटै मनोरञ्जन लिन सक्ने खालका कार्यक्रम निर्माणको लागी निर्माता तथा कलाकारहरू सोच बनाइरहेका छन् ।