आज आमाको मुख हेर्ने दिन हरेकले आफ्नी आमालाई आफू रहेको ठाउँबाट सम्झिएका छन् । सँगै हुनेले उपहार दिएर र सँगै समय बिताएर आजको दिन आमासँग मनाइरहेका छन् भने टाठा हुनेले वा आमा नै भौतिक रूपमा आफूसँग नभएकाले मनबाट सम्झिएर आमाको न्यास्रो मेटाएका छन् । आमा संसारमा सबै भन्दा प्यारो मान्छे, हाम्रो सबैभन्दा नजिकको मान्छे त्यसैले उनी प्रतिको प्रेम बाहिर व्यक्त गरे पनि नगरे पनि त्यो तुलनिय हुँदैन । नेपाली सेलिब्रेटीहरुले पनि आज आफ्नी आमासँग समय बिताएर वा सम्झिएर यो दिन मनाएका छन् । लकडाउनका कारण यो वर्षको आमाको मुख हेर्ने दिनमा प्राय कलाकारहरू घरमै छन् र आफ्नी आमासँगै छन् । यसै बिच उनीहरूले आफ्नी आमालाई सम्बोधन गर्दै आफ्नो सामाजिक सञ्जालमा तस्बिरसँगै स्ट्याटस पनि राखेका छन् । यसै बिच नायिका केकी अधिकारीले आमालाई पत्र लेखेकी छिन् । उनले सामाजिक सञ्जालमा यसबारे उल्लेख पनि गरेकी छिन् । उनी लेख्छिन्, 'आमा, यो परिस्थितिमा आमालाई दिन केही नसके पनि मुखै अगाडी भन्न गाह्रो हुने भावनालाई नाटकीय नै लागे पनि चिठीको स्वरूपमा व्यक्त गर्ने कोसिस गरेको , साँच्चै खुसी हुनु भो अरू बेला भन्दा पनि, कोसिस गर्नुस् त खुसी मिल्छ । आखिर संसार नै ल्याएर आमाको अगाडी राखी दिए पनि आमाले दिएको देनको एक छेउ नि हुन्न ।'
यसै गरी नायिका वर्षा राउतले पनि आफ्नी आमासँग आजको दिन बिताएकी छिन् । उनले सामाजिक सञ्जालमा आमलाई उपहार सहित खाना खुवाएको तस्बिर सार्वजनिक गरेकी छिन् । नायिका वर्षा सिवाकोटीले पनि आमाको तस्बिर सार्वजनिक गर्दै शुभकामना दिएकी छिन् । नायिका रिमा विश्वकर्माले पनि आमाको तस्बिर सार्वजनिक गर्दै 'मेरो गुरु, सबैभन्दा नजिकको साथी अनि मेरो सबै थोक आमा' लेखेकी छिन् । आमालाई आजको दिनमा आफ्नो माया व्यक्त गर्ने क्रममा नायक आकाश श्रेष्ठले पनि आमाको तस्बिर सार्वजनिक गरेका छन् । यसै क्रममा आमालाई सम्झिँदै कलाकार निर्माता दीपकराज गिरीले पनि आफ्नी आमालाई सम्झिएका छन् । उनले आफूलाई याद हुने भन्दा पहिले नै आमाको मृत्यु भएको र उनीसँग सम्बन्धित कुनै पनि कुरा सम्झना नभएको र आमाको माया अनुभव गर्न नपाएको उल्लेख गर्दै सामाजिक सञ्जालमा भावुक स्ट्याटस पोस्ट गरेका छन् । उनले आफ्नी आमालाई सम्झिन नसके पनि आमाको रूपमा पर्दामा आमाको भूमिका निभाउने तीन अग्रज अभिनेत्रीहरूलाई आमाको रूपमा हेर्ने बताएका छन् ।
उनी लेख्छन्, ' सानो छंदा नै आमा बित्नु भयो
आमाको कुनै तस्बिर पनि छैन म सँग
आमा कस्ती हुनुहुन्थ्यो त्यो पनि थाहा छैन...अतः :आमा भन्ने बित्तिकै मेरा विभिन्न चलचित्रमा "आमा" को भूमिका निर्वाह गर्ने यी महान् कलाकारहरूको अनुहार याद आउँछ ...पर्दामा भए पनि उहाँहरूमा मैले आफ्नो "आमा" को छवि पाएको छु
उहाँहरूले पनि छोराको रूपमा अङ्कमाल गर्नु भएको छ, प्रेम गर्नु भएको छ... भावनाको सम्बन्ध पनि कहाँ कमजोर हुन्छ र ? आखिर भावनामा नै त अडेको छ यो मायाको संसार... माने देउता नत्र ढुङ्गा
एउटा आमाको मुख हेर्नु पर्ने ठाउँमा
झन् ३,३ वटी आमाको मुख हेर्दै छु ।'
यस्तै गायिका सुनिता दुलालले पनि माता तीर्थ औँसीको अवसरमा आज आफ्नो फेसबुकमा आमालाई शुभकामना दिएकी छिन् । आफ्नो सबैभन्दा नजिकको साथीको रूपमा उनले आमालाई उल्लेख गरेकी छिन् ।