लकडाउनको समय केही फरक र रोचक रहोस् अनि सिने कर्मी र दर्शकको दुरी कम होस् भन्ने उद्देश्यका साथ नयाँ कार्यक्रम 'लकडाउन रन्डेभु विथ सम्पदा' सञ्चालनमा आउने भएको छ । चर्चित नेपाली टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’ निर्माण गरेको एसआरबीएन मिडियाले निर्माण गरेको यो कार्यक्रम लेखिका तथा फिल्म कर्मी सम्पदा मल्लले सञ्चालन गर्नेछिन् । कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वहरूसँग लकडाउनले उनीहरूको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिनेछ । अहिले लकडाउनको समयमा हामीलाई मन पर्ने सेलिब्रेटीहरूले कसरी समय काटिरहेका होलान् भन्ने कौतुहुल सबैमा छ । यही आइडियाले यो कार्यक्रम जन्मिएको एसआरबीएन मिडियाका क्रियेटिभ डिरेक्टर सुरक्षा अधिकारीले बताएकी छिन् । यस कार्यक्रममा पाहुनाका रूपमा चर्चित व्यक्तित्वहरू दीपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरीका सिंह, आसिफ शाह, सुरज सिंह ठकुरी, सत्य स्वरूप, अनुप बराल, दीया मास्के, विपिन कार्की लगायतका व्यक्तित्वहरू हुने पनि उनले जानकारी दिइन् ।
इन्टरनेटका माध्यममार्फत लकडाउनको समयमा सबैले आफ्नो घरबाटै अन्तर्वार्ता लिने काम भइरहेको आयोजक टिमले बताएको छ । यसै गरी कार्यक्रममा बारेमा कार्यक्रम सञ्चालिका र कार्यकारी निर्माता सम्पदा मल्ल भन्छिन्, 'लकडाउनले धेरै मानिसहरूमा नकारात्मक भावना, तनाव र चिन्ता बढाइरहेको समयमा कार्यक्रममार्फत केही समयका लागि भए पनि सबैमा हाँसो, उत्साह र प्रेरणा दिन सके कार्यक्रम सफल भएको मान्ने छौँ ।' कार्यक्रम हरेक दिन बेलुकीको ८ बजे एसआरबीएन मिडियाको गुन्द्रुक युट्युब च्यानलमा प्रसारण हुनेछ । शुक्रवार पहिलो दिन कार्यक्रमका अतिथि कलाकार तथा निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौला रहेका थिए ।