सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ बिहीबार युट्युबमा सार्वजनिक गरिएको थियो । गत फागुनमा प्रदर्शनमा आएको चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन । फिल्मले औसत प्रतिक्रिया पायो । तर लकडाउनका बेला दर्शकलाई घरमा नै बसेर मनोरञ्जन दिने उद्देश्यले युट्युबमा रिलिज गरिएको चलचित्रले दर्शकले मन पराएका छन् । हलमा रिलिज भएको २ महिना पनि नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरीले कोरोनाका कारण बाहिरी देशको सो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिएको बताएका छन् । अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको यस चलचित्र रिलिज भएको दुई दिनमा नै यस चलचित्र युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ । यसलाई करिब १२ लाख ५० हजारले हेरिसकेका छन् भने ४२ हजार बढिले लाईक गरेका छन् । चलचित्रलाई ४७ सय बढिले प्रतिक्रिया दिएका छन् जसमा अधिकांश प्रतिक्रिया सकारात्मक छन् । दर्शकले नव अभिनेत्री रुविनाको अभिनयको तारिफ गरेका छन् । हलमा रिलिज भएको छोटो समयमा नै राम्रो चलचित्र युट्युबमा हेर्न पाएको भन्दै दर्शक उत्साहित भएका छन् ।