कोरोनाबाट बच्नको लागि सरकारले लागु गरेको लकडाउनको एक महिना पुगिसकेको छ । यस बिच सम्पूर्ण फिल्म तथा मनोरञ्जनका गतिविधि ठप्प भएका छन् । मनोरञ्जन तथा फिल्म सम्बन्धी कामहरू ठप्प भए पनि कलाकारहरू आफ्ना दर्शक शुभचिन्तकका लागी केही न केही सामाग्री लिएर आइरहेका छन् । प्राय कलाकारले सामाजिक सञ्जाललाई यसको माध्यम बनाएका छन् भने हास्य कलाकार सन्दीप क्षेत्रीले भने एक छोटो चलचित्र तयार गरेका छन् । लकडाउनले गर्दा घरमै बसिरहेका सन्दीपले घरमा नै विभिन्न कलाकारहरू अभिनय समेटेर भिडियो तयार गरेका छन् । ‘लकडाउन’ नाम दिइएको उक्त छोटो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, सञ्जय श्रेष्ठ लगायतलाई पनि फिचर्ड छन् ।
घरमै रहेका सबै कलाकारलाई उनीहरूको भूमिका र संवाद पठाएर सोही अनुरूप कलाकारहरू लाई अभिनय गर्न लगाएका हुन् । कलाकारहरूले पनि आफूले पाएको भूमिका अनुसारको भाग खिचेर सन्दीपलाई पठाएका हुन् । सन्दीप आफैँले लेखेको उक्त छोटो चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक युवाको कथालाई प्रस्तुत गरिएको चलचित्रको कथा सन्दीप आफैले तयार पारेका हुन् ।