विश्वलाई नै त्रसित एवम् निकै ठुलो असार गरिरहेको कोरोना भाइरसको जोखिम नेपालमा बढ्दो छ । करिब दुई महिना यता सरकारले जारी गरेको लकडाउनका बावजुत केही दिन यता सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यति बेलासम्म कोरोना सङ्क्रमितको सङ्ख्या २१७ पुगिसकेको छ जसमा २१५ लकडाउन पछि टेस्ट भएका सङ्क्रमितहरू हुन् । जोखिम बढ्दै जाँदा सबैले निकै संयमता अपनाउनु पर्ने भएको छ । सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको छ । यस बिच अत्यावश्यक पर्ने केही सवारी साधनलाई पासको व्यवस्था गरिएको छ जसको कतिपय ठाउँमा सदुपयोग भएको छ भने केहीले यसको दुरुपयोग गरेको पनि देख्न सकिन्छ । यसरी सङ्क्रमण बढिरहँदा सबैले सजगता पूर्वक आफू बसेको स्थानमा धेरै मान्छेको सम्पर्कमा नआई सुरक्षित बस्नु पर्ने हुन्छ ।

यस कुरालाई निकै प्रभावकारी ढङ्गले सञ्चार कर्मी तथा जनाताका विश्वासका पात्र रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम मार्फत निकै मनन योग्य र भावुक विचार राखेका थिए । साथै नेपाली कलाकारले पनि विगत दुई महिना यता सबैले लकडाउनको पालना गरी घरमै सुरक्षित बस्न अनुरोध गरिरहेका थिए । तर आफूले सारा शुभचिन्तक र दर्शकलाई यसरी अनुशासन सिकाउनेहरू नै नियमको पालना गरेर केही समय आफू बस्ने स्थानमा बस्न सकेनन् । सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन आग्रह गरेको छ । भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभाबी हिँड्न सरकारले प्रतिबन्ध समेत लगाएको छ । हुन त प्राय जसो भोज, भेटघाट, सम्मेलन अनि सुटिङमा व्यस्त रहने अनि कमै घरमा बस्ने कलाकार सेलिब्रेटीलाई दुई महिना बाहिर निस्किन नपाउँदा ठुलो सकस भएको हुनुपर्छ । जनतालाई सुरक्षा र यो अवस्थालाई घर मै बसेर जित्ने आश्वासन दिँदै आएका उनै रवि लामिछानेसहित चर्चित कलाकारहरू रात्रि भोजमा सहभागी भएका छन् । जसको तस्बिर र भिडियो सार्वजनिक भएको छ । भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरू किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, किरण केसी लगायत सहभागी भएको देखिन्छ ।

सार्वजनिक भिडियोमा उनीहरू मिठाई पकाउँदै गरेको देखिन्छ भने उनीहरू खासै महत्त्वपूर्ण काममा सहभागी भएको जस्तो लाग्दैन । भोजको तस्बिर तथा भिडियो सार्वजनिक भएसँगै यस कार्यको बारेमा टीकाटिप्पणी भइरहेका छन् । तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने विवाद पनि भइरहेको छ । आफ्ना शुभचिन्तक र फलोअर्सलाई सम्हालिन अनुरोध गर्ने यी सेलिब्रेटीले यसरी समारोहमा सहभागी भइदिँदा कस्तो सन्देश प्रवाह होला त्यो सबैले अनुमान लगाउन सक्ने कुरा भयो । यती मात्र होइन  सरकारले अति आवश्यक कामको लागी दिएको पासको दुरुपयोग भएको भने सामाजिक सञ्जालमा विवाद चर्किएको छ । यसबारे कलाकार लगायत सञ्चार कर्मी लामिछानेले केही बोलेका छैनन् ।