चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्डका लागी अध्यक्षको पद रिक्त छ । केही दिन अघि विकास बोर्डले अध्यक्ष पदको लागि आवेदन माग गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको हो । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको लागि केही वर्ष अघिदेखि भने आवेदन माग गरी खुल्ला प्रतिस्पर्धा भन्ने गरिएको छ । यद्यपि यसको छनौटमा भने निष्पक्षता नहुने भनी चलचित्र क्षेत्रमा गुनासो सुनिने गर्छ । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन पछि रिक्त रहेको पदका लागी आवेदन आह्वान भएसँगै अध्यक्ष पदका आकाङ्क्षीहरूले दौडधुप सुरु भएको छ । योग्यता ताकेर अध्यक्ष पदका लागि आवेदन आह्वान पछि आकाङ्क्षीहरूले आ-आफ्नो पक्षमा लबिइङ पनि सुरु गरेका छन् । चलचित्र विकास बोर्डमा सदस्य पदमै रहेका निर्देशक दयाराम दाहाल, नायक भुवन केसीदेखि निर्माता अर्जुन कुमार, नायक सोहित मानन्धर, निर्देशक दीपक श्रेष्ठ, राजेन्द्र उप्रेती, कलाकार भीमा मैनाली, राजेश थापा, ध्यानबहादुर सुब्बा, परशुराम चौधरीलगायतले आवेदन बुझाएका छन् ।
दाबेदारी दिएका निर्देशक दयाराम दाहाल र नायक भुवन केसी बिच प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । बोर्डको अध्यक्षमा प्रतिस्पर्धामा उत्रने भनी निखिल उप्रेतीको नाम पनि चर्चामा थियो तर अब उप्रेतीले प्रतिस्पर्धामा सहभागी नहुने बुझिएको छ । उनले स्वतन्त्र रूपमा काम गर्न सक्ने अवस्था नभएसम्म बोर्डमा नजाने बताएका छन् । बोर्डले यस पटक आवेदन आह्वान गर्दा पुरानो नियम हटाएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र २० वर्ष चलचित्र क्षेत्रमा काम गरेको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो । यसअघि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको १० वर्षे अनुभव चाहिने मापदण्ड थियो । राजकुमार राई अध्यक्ष हुँदासम्म बोर्डमा जान शैक्षिक योग्यताको मापदण्ड थिएन । चलचित्र क्षेत्रमा काम गरेको अनुभव भए मात्रै पुग्थ्यो । निकिता पौडेल अध्यक्ष हुँदा भने उनले शैक्षिक योग्यता (कम्तीमा स्नातक) बुझाउनु परेको थियो । सोही मापदण्डभित्रै रहेर केशव भट्टराईले पनि नियुक्ति पाएका थिए । उसो त, चलचित्र विकास बोर्डको अध्यक्ष पदमा पुगेका यसअघिका अध्यक्षहरूले खासै सुखद काम गर्न सकेको इतिहास छैन । अझ अब बन्ने नयाँ अध्यक्षको लागी निकै चुनौतीहरू देखिन्छन् ।
लामो समय कोरोनाले गलाएको चलचित्रलाई माथ उठाउने देखी अघिल्ला अध्यक्षले बनाएका योजना र नेपाली चलचित्रलाई नयाँ गति दिनु पर्ने छ । चलचित्र निर्माता, निर्देशक, कलाकार तथा हलसंचालक सम्पूर्णको अवस्था जटिल भइरहँदा यस अवस्थामा कसरी सबैलाई सम्बोधन गरेर अगाडी बढ्न सकिन्छ भन्ने दूर दृष्टि अबको अध्यक्षमा हुनुपर्ने देखिन्छ ।