केही दिन यता सामाजिक सञ्जालमा एउटा कुराले निकै स्थान पाइरहेको छ । त्यो हो सञ्चार कर्मी रवि लामिछाने लगायत केही चर्चित कलाकार सहभागी भएको भेटघाट । दिनदिनै कोरोना सङ्क्रमित बढ्दै जानु र सरकारले पनि अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको बेला कलाकार र जनताले पत्याएका सञ्चार कर्मीले यसरी गरेको भेटघाट र भोजको आलोचना भइरहेको छ । सञ्चार कर्मी रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, कलाकारहरू किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा लगायत सहभागी भएको भिडियो र तस्बिर सार्वजनिक भएपछि विवाद सुरु भएको हो । धेरैले लकडाउनको बेवास्ता गरी सामाजिक दुरी कायम नगरी भोज गरेको भन्दै आलोचना गरेका थिए । यस विषयमा रवि लामिछानेले आफ्नो भनाइ राखिसकेका छन् भने अभिनेत्री पूजा शर्माले पनि आफ्नो भनाइ राखेकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै भनेकी छिन्,' राहत बाँड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुँवर ज्यु को घरमा म लगायत आदरणीय किरण केसी दाइ, दीपक दाई, दीपा दिज्जु गको थियौ । रेस्टुरेन्ट हरू सबै बन्द भको अवस्थामा घरभित्रै बसेर ६/७ जना खाना खानु भनेको सामान्य नै हो जस्तो लाग्छ मलाई किनभने प्राय सबैको घरमै ६/७ जना परिवारको सदस्य नै हुन्छन् । हामी लकडाउनले पारेको क्षतिको बारेमा छलफल गर्दै थियौ । म यस्तो गीत गाउँछु, लक्का जवान, दीपक दाई दीपा दिदीहरूको भावी सिनेमाको योजनाको छलफल गरिराको थियौ.. त्यो भन्दा एक दिन अगाडि सरकारले लकडाउन खुकुलो बनाउने घोषणा गरिसकेको थियो ।'

उनी अगाडी लेख्छिन्, अब आगामी हाम्रो देशको स्थिती र हाम्रो सिनेमा क्षेत्रको भविष्यको बारेमा कुरा गर्दा सधैँ जनताको हकहितको लागि बोल्ने र गर्ने आदरणीय रवि दाइलाई सम्झियौ अनि फोन लगायौ.. रवि दाई नजिकै हुनुहुँदो रहेछ । हामीले मिल्छ भने एक छिनको लागि भेटौँ न त.. वहाँले हाम्रो निमन्त्रणालाई स्विकार्दै आउनु भयो । आगामी राहत बाँड्ने र स्थितिको बारेमा छलफल गरेर खाना खान बसेका हौँ । सामाग्री खाना खाको कुरालाई अतिरञ्जित नबनाएको हुन्थ्यो । त्यस्तो गलत गरेको भय किन मैले फोटो पोस्ट गर्थे होला र.. त्यहाँ लुकाउनु पर्ने के थियो भन्ने लागेर नै पोस्ट गरेको हो । ' उनले रवि र अन्य अग्रज कलाकारलाई आफूले सधैँ सम्मान गर्ने पनि लेखेकी छिन् । साथै खाना खाएको कुरालाई नै आलोचनाको विषय बनाएकोमा चित्त दुखाएकी छिन् ।