चलचित्र पत्रकार सङ्घले हरेक वर्षको जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । चलचित्र पत्रकारहरूको छाता सङ्गठनले हरेक वर्ष ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ प्रदान गर्दछ । तर यस वर्षको जेठ ७ गते पहिलेका वर्ष भन्दा फरक तरिकाले चलचित्र पत्रकारिता दिवस मनाउनु पर्ने बाध्यता छ । कोरोना भाइरसको त्रासले जारी गरिएको लकडाउनको कारण कुनै पनि सभा सम्मेलन तथा कार्यक्रम दुई महिनादेखि आयोजना भएका छैनन् । यसै गरी ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरिएको  छ । सङ्घले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यो वर्ष कुनै कार्यक्रम नगर्ने निर्णय गरेको हो । जारी विज्ञप्तिमा सङ्घले अर्को वर्ष पुरस्कार राशि बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ । यसपालि चलचित्र पत्रकारिता दिवस अर्थात् ७ ज्येष्ठमा डिजिटल प्लेटफर्म मार्फत सङ्घको २१ औँ वार्षिक उत्सव मनाउने पनि जानकारी दिइएको छ ।