लामो समयसम्म चलचित्र सम्बन्धी काम नहुँदा ज्यालादारीमा काम गर्ने चलचित्र कर्मी निकै मर्कामा परेका छन् । जसको कारण दैनिक गुजारा गर्नै निकै समस्या भएको छ । चलचित्र क्षेत्रमा आफ्नो योगदान पुर्‍याउने फिल्म कर्मी तथा प्राविधिकलाई कलाकार लगायत फिल्मसँग जोडिएका केही व्यक्तिले सहयोग गरिसकेका छन् । यसै बिच सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रवार २ सय ७० जना फिल्म कर्मीलाई राहत प्रदान गरिएको छ । २ सय ७० जना फिल्म कर्मीका लागी २५ के.जीको एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराइएको छ । चलचित्र निर्माता सङ्घका अध्यक्ष तथा चलचित्र प्रवर्द्धन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले कुल ६ हजार ७ सय ५० केजी चामल र ८ सय २५ केजी दाल हस्तान्तरण गरिएको बताएका छन् । न्यून आयस्रोत भयका श्रमजीवी चलचित्र कर्मी झन्डै दुई महिना लामो लकडाउनको चपेटामा परेको र यति बेला भने साँच्चै नै उनीहरूलाई राहतको आवश्यकता परेको उनले जानकारी दिएका छन् । आकाशले भने, 'निर्माता, निर्देशक तथा चलचित्रका प्राविधिक तथा सफल कलाकारहरूका लागि समस्या नभए पनि नव प्रवेशी कलाकारहरू तथा प्राविधिक लगायत निम्न आर्थिक अवस्था भएका साथीहरूलाई यस स्थितिमा कलाकारहरूलाई निकै अप्ठेरो परेको छ' ।  

आदिवासी जनजाति महासङ्घका ३५, नृत्य सङ्घका ४५, सहायक निर्देशकहरू ३०, तेस्रो लिङ्गी समुदायको प्रतिनिधित्व गर्ने ब्लु डायमन्ड सोसाइटिका ३०, प्राविधिक सङ्घका ३५, चलचित्र द्वन्द्व सङ्घका २५, कलाकार सङ्घका जुनियर कलाकारहरू ३५ र सङ्गीत समाजका ३५ जना गरी जम्मा २७० जना चलचित्र कर्मी लाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको हो।