नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ । केदार श्रेष्ठले निर्देशन गरेको फिल्मले 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन'को ६६ औँ संस्करणमा ‘चिल्ड्रेन एण्ड युथ कम्पिटिसन’ अन्तर्गत 'स्पेसियल मेन्सन अफ द चिल्ड्रेन्स जुरी' अवार्ड पाएको हो । यही फेस्टिभलमार्फत अन्तर्राष्ट्रिय प्रिमियर गरिएको थियो । सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो । 'जुनुको जुत्ता'ले यसअघि अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’ अवार्ड जितेको थियो । यस चलचित्रमा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय रहेको छ । यो उल्टो जुत्ता लगाउने सानी नानीको कथा हो ।