आज जेठ ७ गते २१ औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस हो । नेपाल चलचित्र पत्रकार सङ्घले हरेक वर्ष समारोह आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको छ । तर यस वर्षको स्थापना दिवस लकडाउनका कारण सुनसान हुने भएको छ । यस वर्ष कुनै पनि समारोह आयोजना नहुने भएपछि सङ्घका सदस्यहरू भर्चुअल्ली अन्तर्क्रिया गरेर वार्षिकोत्सव मनाउँदै छन् । सङ्घका अध्यक्ष दिनेश सिटौलाले अनलाइन एप 'जुम'मार्फत 'आजको आवश्यकता, सही सूचनासहितको व्यावसायिक पत्रकारिता' भन्ने नाराका साथ छलफल हुन लागेको बताएका छन् ।

उनी भन्छन्, 'कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न र लकडाउन मर्यादित ढङ्गले पालना गर्ने भन्दै छलफलका लागि डिजिटल प्ल्याटफर्मको प्रयोग गरिएको हो । भर्चुअल्ली कार्यक्रम गर्नुलाई बाध्यताभन्दा पनि जिम्मेवारीका रूपमा लिएको र अवस्था सामान्य भए पछि मात्र सभा समारोह आयोजना गरिने छ ।' सङ्गठनले हरेक वर्ष ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ प्रदान गर्दै आएको छ जुन यस वर्ष रोकिएको छ । अर्को वर्ष पुरस्कार राशि बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताइएको छ ।