लामो समय देखी भारतमा बसेर कलाकारिता गर्दै आएकी अभिनेत्री मनिषा कोइरालाले नेपाल र भारत बिच भएको सीमा विवाद बारे बोलेकी छिन । जसको कारण उनी विवादित बनेकी छिन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाले गरेको ट्विटलाई लिएर भारतीय मिडिया उनी विरुद्ध लागेका हुन् । अभिनेत्री कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले रि ट्विट गर्दै 'हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबिच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ' लेखेकी थिइन् । यही ट्विटलाई लिएर भारतीय मिडिया उनीमाथि खनिएका हुन् । भारतको चर्चित टेलिभिजन एबीपी टेलिभिजनले भारतको खाएर चीनको इसारामा चल्ने भन्दै उनको खण्डन गरेको छ ।

मनिषाले चीनको इसारामा बोलेको भन्दै उनलाई भारतले दिएको मान सम्मान र नामको विरुद्धमा उत्रिएर नेपालको पक्षमा बोलेको भनिएको छ । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेको आरोप पनि उनलाई लागेको छ । यसबाट भारत पूर्णतया नेपालले जारी गरेको नक्साको विरुद्धमा छ र उसलाई यो कहिल्यै मान्य हुनेछैन । भारतीय मिडियाले मनिषाको खण्डन मात्र गरेको छैन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइ रहेका छन् । मनिषाको अभिव्यक्ति र उनले नेपाललाई समर्थन गरेको मा भारतीय नागरिक पनि विरोधमा उत्रिएका छन् ।