अर्जुन तिवारीले निर्देशन गरेको छोटो चलचित्र ‘क्रन्दन’ सार्वजनिक भएको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न जारी गरिएको लकडाउनले अप्ठेरोमा परेका मजदुरको कथामा निर्माण गरिएको चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्र ‘क्रन्दन’मा कलाकार राज न्यौपाने मात्रै फिचर्ड छन् भने कलाकार विजय बराल, सन्दीप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्श तिवारी, प्रिन्शु तिवारी, अभिनीत चौलागाईंले  आवाज दिएका छन् । यसमा अभिनेता पल शाह समेत अतिथि भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रको कथा, छायाङ्कन तथा सम्पादन पनि निर्देशक तिवारीले नै गरेका हुन् । मजदुरहरूले भोग्नु परेको समस्यालाई छोटो चलचित्रमार्फत देखाउन खोजेको तिवारीले बताएका छन् । यसबाट समस्यामा परेकाको आवाज सम्बन्धित निकायसम्म पुग्नेमा आशावादी रहेको उनको भनाइ छ ।