कोरोना सङ्क्रमणका कारण विश्वका धेरै देशहरू प्रभावित भएका छन् । जसको कारण दुई महिना भन्दा बढी समय देखी सङ्क्रमण फैलिएका सम्पूर्ण देशको फिल्म इन्डस्ट्री नराम्रो सँग पछाडि धकेलिएको छ । यसको सबै भन्दा ठुलो घाटा भारतले व्यहोरेको छ । विश्वकै ठुलो मानिने बलिउड फिल्म इन्डस्ट्री दुई महिना यता बन्द हुँदा अरबौँ घाटा लागेको छ । भने अझै स्थिति सामान्य कहिले हुने टुङ्गो छैन । किनकि भारतमा कोरोना सङ्क्रमित र मृत्युको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ । सामान्य अवस्थामा फर्कन समय लाग्ने भएकाले निर्माण गरिएका भारतीय चलचित्र धमाधम डिजिटल रिलिज हुने तयारीमा छन् । केही चलचित्रले डिजिटल रिलिजको घोषणा समेत गरिसकेका छन् । यसैबिच मल्टीप्लेक्स एसोसिएसन अफ इन्डियाले भारत सरकारलाई सुरक्षा अपनाएर फिल्म हल खोल्ने प्रस्ताव पेस गरेको छ ।

सूचना तथा प्रसारण मन्त्रालयसँगै सम्पूर्ण प्रान्तलाई एसोसिएसनले आफ्नो सुरक्षाको प्लान पठाएको छ । ओटिटीमा एक पछि अर्को चलचित्र रिलिज हुने भनेपछि भारतका हल सञ्चालकले आफूहरू समस्यामा पर्ने गुनासो गर्दै आएका छन् । कोरोना भाइरसकै बिच दर्शकको सुरक्षालाई लिएर गरिएको प्लानमा सरकार सकारात्मक रहे फिल्म हल खुल्नेछन् । यद्यपि सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।