अभिनेत्री मनिषा कोइरालाले नेपालको समर्थन गर्दै अभिव्यक्ति दिएको भन्दै भारतीय मिडिया पछि लागेका छन् । उनले नेपाले भर्खरै सार्वजनिक गरेको नक्साको विषयलाई लिएर खुसी व्यक्त गरेकी थिइन् । आफ्नो मातृ भूमिको बारेमा बोल्दा एकाएक भारतीय मिडिया उनको पछाडि लागे पछि नेपालका कलाकारहरू पनि बोल्न थालेका छन् । कलाकारले आफ्नो अभिव्यक्ति दिने क्रममा अभिनेत्री पूजा शर्माले पनि मनिषाको समर्थनमा आफ्नो विचार राखेकी छिन् । उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस पोस्ट गर्दै भारतसँग मनिषाले भिख मागेकी होइनन् भनेकी छिन् । मनिषा कोइरालाले बलिउडमा आफ्नै क्षमताले राज गरेको र मनीषाको योगदानलाई लत्त्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टीठ लागेर आएको समेत लेखेकी छिन् । साथै उनले भारतीय मिडियाले यसरी नेपाल र नेपाली चेली मनीषाको विरुद्ध यसरी बोल्दा पनि नेपाली मिडिया चुप बसेकोमा गुनासो समेत गरेकी छिन ।

हेरौँ के लेखेकी छिन् उनले: 'आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको विषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् । तर, उनीहरूले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो । मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभएको हैन आफ्नो कलाकारितामा उभिएर खानुभएको हो मनीषा दिदीको योगदानलाई लत्त्याउँदै उल्टै अपशब्द बोल्ने मिडिया प्रति टीठ लागेर आयो । नेपालीहरू काम र कर्मको सिलसिलामा सन्सारभर होलान् तर जब देश र आफ्नो जमिनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलिन्छ जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिँदैन चेतना भया । अर्को दुःख यसमा लागेको छकी भारतीय मिडियाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनिरहँदा नेपालका मिडियाहरूले खासै आवाज उठाउन सकेनन् ।'