नेपालले विवादित नेपाली भूभाग लिम्पियाधुरा लिपुलेक सहितको नक्सा सार्वजनिक गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । भारतले आफ्नो भन्दै आएको यस भूभागमा नेपालको अनुमति समेत नलिई सडक मार्ग निर्माण गरेपछि विवाद अझ बढेको हो । नेपाल सरकारले आफ्नो भूमि कुनै हालतमा पनि अर्काको कब्जामा पर्न नदिने भनी नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडिया, सरोकारवाला निकाय र जनता समेत रुष्ट बनेका छन् । यसै बिच भारतलाई कर्म भूमि बनाएकी नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपालको समर्थन गर्दै अभिव्यक्ति दिए पछि त भारतीय मिडियालाई के निहुँ पाउँ भइहाल्यो । उनीहरूले मनिषाको मात्र विरोध गरिरहेका छैनन् नेपालले पनि भारत विरुद्ध चीनसँग मिलेर लागी परेको आरोप लगाइरहेका छन् । यसै बिच नेपाली कलाकार तथा समपूर्ण नेपाली आफ्नो भूमि माथि धावा बोल्नेको विरुद्ध लागी परेका छन् । नायक निखिल उप्रेतीले यस विषयलाई लिएर आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक र ऐतिहासिक कदम चालेको र यसमा सबैले साथ दिनु पर्ने जनाएका छन् । उनले हरेक काममा भारतसँग निर्भर हुने प्रवृत्तिले भारतले हद पार गरेको र हेपिनेले धेरै ठाउँ दिएपछि हेप्नेले सीमा काट्नु सामान्य भएको बताएका छन् ।
उनले अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले आजको दिनमा समेत केही नेताहरूले भारतकै गुलामी गरिरहेको र आगामी दिनमा उनीहरूलाई शक्तिबाट हटाउनु पर्ने साथमा हरेक नेपाली आत्मनिर्भर हुन आवश्यक रहेको उल्लेख गरेका छन् । उनले भारतले नेपाल लाई सानो मानेर हेपेको तर कोरोना पनि सानो नै थियो जसले विश्वलाई नै लकडाउनको स्थितिमा ल्याइदियो । त्यसैले सानो अझ शक्तिशाली हुने बताएका छन् । उनले जुनसुकै पार्टी को भए पनि देशको मामिलामा भने एक हुन आह्वान गरेका छन् । जसले हाम्रो आगामी पुस्ता पनि स्वाभिमानले बाँच्न सकोस् ।