यति बेला सामाजिक सञ्जाल मात्र होइन देश नै सीमा विवादको प्रसङ्गले तातेको छ । अझ केही दिन यता सामाजिक सञ्जाल तताएको विषय हो अभिनेत्री वर्षा राउतले सीमा विवाद बारे बोलेको कुरा । वर्षाले शनिवार एक अन्तर्वार्ता मा सीमा विवादबारे आफ्नो धारणा राखेकी थिइन् जसले निकै विवादित रूप लियो । उनले दुई देश बिचको विवाद भएकाले टेबल टक गरेर मात्र समाधान हुने र यसमा नेपाल र भारत तर्फबाट नकारात्मक भ्रम फैलाउनु नहुने भनेकी थिइन् । यसै कुरालाई ल्याएर उनी विरुद्ध गाली गलौच र देश प्रतिको माया नभएको भनि प्रतिक्रिया दिइएको छ । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र अर्थको अनर्थ लगाइए पछि नायिका राउतले यसबारे स्पष्टीकरण दिएकी छिन् । सँगै उनले माफी माग्दै अब बोल्दा सचेत रहने पनि प्रतिज्ञा गरेकी छिन् । उनले सामाजिक सञ्जाल मा लामो स्ट्याटस लेख्दै प्रसङ्गको स्पष्टीकरण दिँदै  मन भित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि नचुकेको बताएकी छिन् । उनी भन्छिन्, 'कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर आफू नेपाली भएकोमा सदैव गर्व गर्छु' । उनी थप लेख्छिन्, 'हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।' उनले आफूले बोलेको शब्दहरूको टेढिएर अर्थ लागेको र यस परिस्थिति सृजना भएकोमा आफू क्षमा माग्ने पनि उल्लेख गरेकी छिन् ।

हेरौँ उनको स्पष्टीकरण जस्ताको तस्तै : सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन । कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन । संसारको कुन नागरिकलाई आफ्नो मातृभूमिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठुलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ । हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिक मात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानव धर्मको । यस्तो संवेदनशील समयमा भड्काऊ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तर्देशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ । नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौँ । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरेँ त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमा प्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।

जय नेपाल, जय नेपाली !

जननी जन्मभूमि स्वर्गादपी गरियसि