पछिल्ला केही दिनमा सामाजिक सञ्जाल एवम् सञ्चार माध्यमहरू विभिन्न विषयले तरङ्गित भइरहेका छन् । नेपाल भारत सीमा विवाद देखी नवराज विकको हत्याले सबैको मस्तिष्क हल्लाइदिएको छ । यसै बिच एउटा निकै संवेदनशील विषयले नेपाली महिला सेलिब्रेटीलाई निकै तनाव दिइरहेको छ । त्यो हो नेपाली नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो । केही नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग मात्र भएर सम्पूर्ण नेपालीलाई नै आतङ्कित बनेको छ । चर्चित अनुहारलाई विदेशी पोर्न भिडियोको शरीरसँग जोडेर सार्वजनिक गरिएका यस्ता भिडियोले नेपाली महिला कलाकारलाई तनावमा पारिदिएको छ । त्यस्ता भिडियो विश्व मै चर्चित ‘डिपफेक’ प्रविधिमार्फत अरूको पोर्न भिडियोमा कलाकारको तस्बिर र भिडियो जोडेर हुबहु देखिने गरी बनाइएका फेक भिडियो हुन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले आफ्नो नक्सा जारी गरेसँगै नेपाली र भारतीय ह्याकर समूहबिच एक अर्काको देशका साइटहरू ह्याक गर्ने होडबाजी चलिरहेको छ । यसकै नतिजा हो आज देशका इज्जत कलाकारले चरित्रहत्या गर्ने र मानसिक तनाव व्यहोर्नु परेको छ ।

यो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै मङ्गलवार नेपाल चलचित्र कलाकार सङ्घले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिइएको छ । टेकुमा पुगेर चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो । यसबारे अनुसन्धान गरिरहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्की नेपालीले कलाकारको अनुहार प्रयोग गरेर बनेका फेक अश्लील भिडियोबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनी भन्छन्, 'कसले, कसरी र कहाँबाट यो गरिरहेको छ, खुलिसकेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ' । अश्लील भिडियो आतङ्कबारे चलचित्र सङ्घका पूर्व अध्यक्ष तथा निर्माता प्रदीप उदय भन्छन्, 'जुन अवस्थामा यो भिडियो लिक गरिएको छ, यसको मनसाय खराब नै छ भन्ने बुझिन्छ । एकातिर नेपाली चलचित्र उद्योगका नारी कलाकारलाई बदनाम गराउन खोजिएको छ भने अर्कातिर दुई देशको सम्बन्धमा अहिले अलिकति चिसोपन आएको छ यसलाई अझ उग्र बनाउन खोजिएको छ, यो निकै डरलाग्दो छ । यो चलचित्र उद्योगको कुरा मात्रै होइन समग्र देशकै कुरा हो ।' 'स्पाइडर स्क्वाड' को नाममा आएको सूचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाको अनुहारमा भिडियो बनाएर सार्वजनिक गरिएको हो । भिडियोमा नायिकाको मोबाइल ह्याक गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ । 

डिपफेक यस्तो प्रविधि हो जसले एउटा मौजुदा तस्बिर वा भिडियोमा देखिएको व्यक्तिलाई आफूले चाहेअनुसार अर्को व्यक्तिको तस्बिर या भिडियो मार्फत हुबहु देखिने गरी प्रतिस्थापन गर्न सक्छ । मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्समार्फत यस्ता डिपफेक भिडियो तयार हुने गर्छ । यसको सफ्टवेयरले हुनै व्यक्तिको अनुहार, हाउभाउ र आवाज हुबहु नक्कल गर्न सक्छ । प्रविधिबारे कम सचेतना भएको हाम्रो जस्तो समाजमा त्यस्ता भिडियोलाई वास्तविक ठानिनु सामान्य हो । त्यसैले यसबारे सबैले सही जानकारी लाई सार्वजनिक गर्नु पर्ने देखिन्छ ।