मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक गरिएको छ । वीर गोर्खालीको कथामा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को केही समय पश्चात् छायाङ्कन सुरु हुने चलचित्रमा कलाकारको रूपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने चलचित्रबाट रितेश चाम्सले डेब्यु गर्नेछन् । चलचित्र लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने छ । चाँडै छायाङ्कन सुरु हुने चलचित्रको बजेट २० करोड बढी रहेको बताइएको थियो । ५० प्रतिशत हलिउड प्राविधिक राखेर चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार गरिनेछ । चलचित्रको लन्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए ।
युके, अफगानिस्तान र नेपालमा छायाङ्कन हुने चलचित्रको एक अभिनेत्रीको खोजी भइरहेको निर्माण पक्षले बताएको छ । लन्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ । यो किसिमको टेस्ट टिजर हलिउड चलचित्रहरूले बनाउने गर्दथे यो टिजरमा समावेश दृश्यहरू चलचित्रमा रहने छैन नेपाली चलचित्रमा पहिलो पटक गरिएको निर्देशक मिलन चाम्सले बताएका छन् । चलचित्रको स्क्रिन टेस्ट गर्नको लागि नेपालमा नै छायाङ्कन गरिएको हो ।