रुकुममा घटनाका बारेमा नेपाली सेलिब्रेटी कलाकारहरूले आफ्नो विचार राखिरहेका छन् । साथमा यसको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरिरहेका छन् । आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको निर्मम हत्याको अनुसन्धान प्रशासनिक रूपमा चलिरहेको छ । यसै समयमा दोषी कुनै हालतमा उम्कन पाउनुहुँदैन भन्ने आवाज उठिरहेको छ । यति बेला सामाजिक सञ्जालमा नवराजकी प्रेमिका सुष्मा मल्ल विरुद्ध थुप्रै टीकाटिप्पणी भइरहेका छन् । उनको चरित्र हत्या गर्ने देखी हत्यामा उनी नै संलग्न भएको आरोप उनलाई लगाइएको छ । यसै विषयलाई लिएर अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा शुष्मा मल्लको चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् । उनले घटनाका दोषीलाई तुरुन्त कारबाहीको माग गर्दै बालिकाको चरित्र हत्या नगर्न अनुरोध सहितको फेसबुकमा लामो स्ट्याटस पोस्ट गरेकी छिन् । उनले समाज बिरुद्द अन्तर्जातीय प्रेम गर्ने साहस भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ? दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नु पर्ने ? भनी प्रश्न गरेकी छिन् ।उनी लेख्छिन्, 'अन्तर्जातीय प्रेम गरेको सट्टा जसरी उसको चरित्र हत्या हुँदै छ, यसले जाति बादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने देखिन्छ ।' उनले यो एउटा निर्मम हत्या त हो नै अझ थप अपराध हामीले उक्त किशोरीको चरित्र हत्या गरी मानसिक पिडा दिँदै गरिरहेका छौँ भन्ने आशय व्यक्त गरेकी छिन् ।

हेरौँ के लेखेकी छिन् उनले :  ''रुकुम घटनाका दोषी माथि करवाही र पीडितलाई अविलम्ब न्याय दिइयोस् । यस घटनामा जोडिएकी किशोरीको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरि पनि उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातीय प्रेम गर्ने साहस भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरीको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समूहमा बाहुन छेत्री, जनजाति जो जसलाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर विद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिंसा र प्रताडना दिएको कारण ती किशोरी नदीमा हाम फालेमा कसले जवाफ दिन्छ ? अन्तर्जातीय प्रेम गरेको सट्टा जसरी उसको चरित्र हत्या हुँदै छ, यसले जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने देखिन्छ । राज्यसँग लड्नु पर्‍यो नि, एउटा १७ वर्ष कि किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ? दोषी भए कानुनी कारबाही गरियोस् । यो नबिर्सौँ कि एउटा किशोरीको जीवन बरबाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोलि कसैलाई माया गर्ने छैनन् ।''