अनमोल केसी र सुहाना थापाको जोडिलाई दर्शकले निकै माया दिएका छन् । सुहानाको डेब्यु चलचित्र 'ए मेरो हजुर ३'मा एकसाथ देखिएको यो जोडीको नयाँ चलचित्रको प्रतीक्षामा दर्शक छन् । दुई महिना भन्दा लामो लकडाउनका कारण उनीहरूको आगामी चलचित्र 'ए मेरो हजुर ४' छायाङ्कनमै रोकिएको छ । आगामी दसैँमा रिलिज गरिने भनिएको चलचित्र अब के हुन्छ त्यो अन्योल नै छ । अनमोल र सुहाना चलचित्रमा मात्र एकसाथ काम गरेनन् उनीहरू अन्य समयमा पनि नजिक छन् ।
सुहाना पहिल्यै देखी धर्ममा आस्था राख्ने र कृष्ण भक्त हुन् । उनी आफ्नो केही समय धार्मिक कार्यमा पनि लगाउने गर्छिन् । साथमा नायक अनमोल केसी पनि सानै देखी धर्ममा रुचि राख्ने गर्छन् । उनी पनि भगवान् कृष्णको भक्त हुन् । लकडाउनका बेला घर बसेका उनी धार्मिक पुस्तकहरू पढिरहेका छन् । उनी यति बेला 'भागवत गीता' पढिसकेर 'महाभारत' पढिरहेका छन् । यी दुवै किताब पडिरहँदा आफूले सोच्ने तरिका बदलिएको र जीवनको अर्थ बुझेको बताउँछन् । यसै बिच निर्जला एकादशीको दिनमा अनमोलले बुढानीलकण्ठमा रहेको कृष्ण मन्दिर परिसरमा पुगेर २४ घण्टा पानी पनि नखाई व्रत बसेका थिए । उनीसँगै पुगेकी थिइन् सुहाना । दुवैले बुढानीलकण्ठको स्कोन हरे कृष्ण मन्दिरमा भजन कीर्तन गरे र बिरुवा समेत रोपे ।