फिल्म कर्मी तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले निर्माण गरेको डकुमेन्ट्री सार्वजनिक भएको छ । खोटाङ हलेसीको तुवाचुङ्ग नगरपालिकाको बिजुलेबाट पुगेर तयार गरिएको वृत्तचित्र ‘मैले देखेको कथा’ युट्युबमा सार्वजनिक गरिएको छ । वृत्तचित्रमा गरिबी र सामाजिक भेद भावले जीवनभर लखेटिएका ८५ वर्षीय वृद्धका कथा समेटिएको छ । ८५ वर्षीय थमिनी बढेमा गाउँभरिको एक मात्र दलित तथा विपन्न परिवारकी आमा हुन् । उनी १० जना सन्तानकी आमा हुन् तर ८ जनाको मृत्यु भयो, दुई बेपत्ता छन् । उनको घरमा न बत्ती छ न पानी खाने धारो जुन गाउँका हरेकको घरमा छ । देशमा समानता र छुवाछुत विरुद्धको ठुला ठुला आवाज उठिरहँदा दूर दराजमा यसरी सामाजिक बहिष्कारमा परेर जीवनका अन्तिम समय सरकारले दिएको वृद्ध भत्ताले जीवन गुजारा गरिरहेकी डाँडामाथिकी जुन भएकी एक्ली आमाको कथा हो ‘मैले देखेको कथा’ । भिडियोबारे पुरी भन्छन्, 'थमिनी बडेमालाई त उनको जीवन बानी परी सकेको छ, उन्लाई आफ्नो जीवन अनौठो नलाग्दो हो, शायद उन्ले त यो भिडियो बनेको पनि थाहा नपाउँदी हुन । तर मलाई उन्को यो कथा थाहा पाइनु पर्छ जस्तो लाग्यो ।' उनलाई भिडियो खिच्न जीवन पुरीले सहयोग गरेका हुन् भने सम्पादनमा अनिल कुमार महर्जन र ग्राफिक्समा रमेश पुरीले सहयोग गरेका हुन् ।