नेपाली फिल्म इन्डस्ट्रीका महानायक राजेश हमालको आज जन्मदिन परेको छ । हमालले आज आफ्नो जन्मदिन परिवारसँगै घरमा नै मनाउँदैछन् । विकिपीडियाका अनुसार उनि ९ जुन, १९६४ मा पाल्पामा जन्मिएका हुन् । नेपाली चलचित्र क्षेत्रमा ‘युगदेखि युगसम्म’बाट प्रवेश गरेका नायक हमालले आफ्नो करिअरमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । हमालले अभिनय गरेका ‘बसन्ती, देउता, भाउजू, युगदेखि युगसम्म’ लगायतका चलचित्र चर्चित छन् । उनले नेपाली चलचित्रलाई नयाँ बाटो त दिए नै साथमा नेपाली चलचित्र क्षेत्रमा विगत २६ वर्ष देखी निरन्तर अमूल्य योगदान दिइरहेका छन् । हमाल आज पनि उत्तिकै सक्रियताका साथ नेपाली चलचित्रको उत्थानमा लागिपरेका छन् । उनी केही वर्षयता भने अभिनयबाट केही टाढा छन् । तर उनी यो समयमा आफै नयाँ चलचित्र निर्देशनको तयारीमा लागेका छन् । जसको कारण अफर आएका चलचित्रहरूलाई पनि अस्वीकार गरिरहेका छन् ।
सधैँ जोसिलो र हँसिलो रहने महानायक हमालले ६ वर्ष अगाडी प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए । हमालको व्यक्तित्व, बोल्ने शैली र हरेक कुरालाई सही विश्लेषण गर्ने क्षमताका कारण आज पनि उनलाई दर्शकले उत्तिकै रुचाएका छन् र अझै पर्दामा हेर्न रुचाउँछन् । नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक राजेश हमाललाई जन्मदिनको शुभकामना !!