भारतले नेपालको भूमि मिचेर सडक बनाए यता सीमा अतिक्रमणको विरुद्धमा आवाज उठिरहेको छ । आफ्नो देशको माटोमा पराइको नजर पर्दा नदुख्ने कमै नेपाली होलान् । यसरी आफ्नो मनमा र रगतमा उम्लिएको देश प्रेमलाई कलाकारहरूले आफ्नो कलाको माध्यमबाट पोखिरहेका छन् । यसै विषयलाई समेटिएको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आवाज एकता’ बोलको गीतमा गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ । गीत रवि श्रेष्ठको शब्द तथा सङ्गीतमा तयार गरिएको हो । युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारहरू हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, सिता घिमिरे, रक्षा श्रेष्ठ, आँचल शर्मा, मिस नेपाल अनुष्का श्रेष्ठ, गायक रामकृष्ण ढकाल, सङ्गीतकार आलोक श्री, पत्रकारहरू सन्जोग बस्याल, जीवन पराजुली, विजय बस्याललगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई रवि श्रेष्ठले निर्देशन गरेका हुन् । गीतले सीमाको विषयमा मात्र बोलेको छैन यसले कोरोना कहरले निम्त्याएको सामाजिक दुरीको कुरा पनि समेटेको छ । गीतले केही समय एक अर्कासँग टाढा भए पनि मनको सम्बन्ध कहिले टाढा नहुने भाव बोकेको छ । 'एक दिन हामी यो सबै पार गरेर एक अर्काको नजिक पुग्नेछन्' गीतले भन्छ ।