बलिउडका निकै अब्बल अभिनेता सुशान्त सिंह राजपुतको मृत्युले बलिउड मात्र होइन नेपाली फिल्म इन्डस्ट्री पनि शोकमा डुबेको छ । एक कुशल अभिनेता डिप्रेसनको सिकार हुन अनि अन्त्यमा आत्महत्याको बाटो रोज्नु पर्ने अवस्थाले नपिरोल्ने को होला र ? राम्रो शैक्षिक पृष्ठभूमि छोडेर आफ्नो करिअर चलचित्रलाई बनाउन आएका सुशान्तको डिप्रेसन र मृत्यु पछाडि चलचित्र क्षेत्रमा भएको व्यथिती र नातावाद नै भएको बलिउड कर्मीले बताइरहेका छन् । यसले एउटा राम्रो सम्भावना भएको र राम्रो काम गर्ने क्षमता भएको कलाकारको अगाडिको पाइला रोकिने विषयमा बहस सुरु भएको छ । यसै बिच एउटा कुशल अभिनेताले यसरी ज्यान फाल्नु पर्ने अवस्था आएको र नेपालमा पनि यो अवस्था आउन सक्ने भनी नेपाली कला कर्मीले पनि चिन्ता व्यक्त गरेका छन् । यसै बिच अभिनेत्री नम्रता सापकोटाले परिवारवादले बलिउडमा मात्र होइन नेपाली चलचित्र क्षेत्रमा नै मौलाएको बताएकी छिन् । उनले सोमवार साँझ फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै कला र कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी प्राथमिकता दिइने र नचाहिँदो प्रचार प्रसार गरिने गुनासो गरेकी छिन् ।
भिडियोमा उनी भन्छिन्, ‘बलिउडको किन कुरा गर्नुपर्यो, सबै त म भन्दिन तर हाम्रो क्षेत्रमा नै अधिकांश यस्तो उदाहरण छ । कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन छ । कलाकार चाहियो भनेर घोषणा गरिन्छ, तर अन्त्यमा आफ्नै छोराछोरी, भतिजा–भतिजीलाई नै लिएर काम गरिन्छ ।’ उनी अगाडी भन्छिन्, यहाँ एउटा फिल्म गर्न यति पारिश्रमिक लियो भन्ने खबर आउँछ । जुन सुन्दा हामी आफैँलाई अचम्म लाग्छ । तर, त्यो फिल्म आफ्नै आमा बुवाले बनाएको हुन्छ । यसले गर्दा मेहनत गरेर अगाडि बढ्न चाहने र क्षमता हुने पनि पछाडी धकेलिने उनको भनाइ छ । उनले ५०–६० प्रतिशत चलचित्र कर्मीले आफ्नैलाई महत्त्व दिँदा अरू कलाकार डिप्रेसनमा नगएर के गर्नु त ? भन्दै गम्भीर प्रश्न उठाएकी छिन् ।